दफा २५
कर फिर्ता हुन सक्ने

(१) देहाय बमोजिमको करको रकम तत्सम्बन्धी कारोबार भएको मितिले तीन वर्षभित्र फिर्ता पाउन दरखास्त परेमा फिर्ता दिइनेछ:–

(क) नेपाल सरकार परराष्ट्र मन्त्रालयले कूटनीतिक मान्यता प्रदान गरेको नेपालको कूटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा वा क्षेत्रीय वा अन्तर्राष्ट्रिय नियोग वा संस्थामा कार्यरत कूटनीतिक सुविधा प्राप्त व्यक्तिलाई कर छुटको सुविधा प्रदान गरेको रहेछ भने नेपालस्थित त्यस्तो राष्ट्र क्षेत्रीय वा अन्तर्राष्ट्रिय नियोग वा संस्थाको कूटनीतिज्ञले आफूले उपभोग गरेको हदसम्म नेपालभित्र तिरेको करको रकम,

(क१) नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा क्‌टनीतिक सुविधा प्राप्त नियोगले नेपालभित्र कर लाग्ने वस्तु वा सेवा खरीद गर्दा तिरेको करको रकम,

(क२) संयुक्त राष्ट्र संघ, यसका सदस्य संस्था एवं विशिष्टीकृत एजेन्सीले आफ्नो उद्देश्य अनुरुप कार्य सञ्चालन गर्ने सिलसिलामा नेपालभित्र कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा तिरेको करको रकम।

(ख) नेपाल सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तर्राष्ट्रिय संस्था वा त्यस्तो संस्थाले तिरेको करको रकम,

(ग) नेपाल सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दुई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल ……… भित्र आयोजना सञ्चालन गर्ने सिलसिलामा तिरेको करको रकम,

(घ) भूलबाट असुल गरिएको करको रकम ।

(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कूटनीतिक निकाय वा कूटनीतिज्ञले कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा तिरेको कर एक पटकमा १दश हजार रुपेयाँभन्दा कमको खरिदमा फिर्ता गरिने छैन ।

(१ख) कुने उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैङ्क खातामा फिर्ता गरिनेछ ।

(२) उपदफा (१) को खण्ड (घ) बमोजिम करको रकम फिर्ता गर्दा करको वास्तविक भार बहन गर्ने व्यक्तिलाई मात्र फिर्ता गरिनेछ ।